खेलकुद देश

१३ औं सागको समापन आज, १४ औं साग पाकिस्तानमा

काठमाडौं, २४ मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । नेपालका मुख्य तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाकै सबै भन्दा ठूलो खेलकुद प्रतियोगिता १५ मंसिरमा सुरु भएको थियो । प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी थिए ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्देश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना गरेको थियो भने यसवर्ष नेपालले तेस्रो पटक साग आयोजना गरेको हो । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा चलेको थियो । अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन ।

सागका केही पदकको टुंगो आज लाग्नेछ । अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ भने आयोजक नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

समापनको भव्य तयारी
आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापन समारोहलाई भब्य बनाउने तयारी गरेका छन् । समापन समारोह अगाडि पुरुष फुटबल टिमको फाईनल खेल हुनेछ । त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् । त्यसपछि १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Featured