देश

घट्दै एचआइभी संक्रमित

डोटी, मंसिर २४–एचआइभी संक्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित संख्या घट्न थालेको छ । पछिल्लो तथ्यांक हेर्दा संक्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कूल ९९४ संक्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआइभी संक्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ४०, २०७४÷७५ मा ३५ र २०७५÷७६ मा २९ एचआइभी संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘जिल्लामा एचआइभी संक्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण संक्रमितको संख्ख्या घट्दै गएको छ तर आर्थिक कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ । राज्यले एचआईभी संक्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका संक्रमित दुखःमा पर्ने गरेका संक्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताए । उनले भने, ‘हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी संक्रमितका समस्या जस्ताका त्यस्तै छन्, संक्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।’ पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी संक्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी संक्रमितत रमा कुँवरले गरिन् ।

संक्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए । जिल्लामा हाल एक हजार ५६७ एचआइभी संक्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बढी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी संक्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ ।(रासस)

Featured