खेलकुद विदेश

विश्वकप र ओलम्पिकमा सहभागी हुन रुसलाई प्रतिबन्ध

एजेन्सी, मंसिर २३–विश्व डोपिङ एजेन्सी (वाडा) ले रुसलाई सबै प्रमुख खेलकुद प्रतियोगितामा सहभागी हुनबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको छ । त्यसैले, रुसले २०२० मा हुने आगामी ओलम्पिक र २०२२ को कतार विश्वकपमा सहभागी हुन नपाउने भएको छ । यद्यपि डोपिङ प्रकरणमा आफूलाई निर्दोष प्रमाणित गर्न सक्ने रुसी खेलाडीले भने तटस्थ रूपमा सहभागी हुन पाउनेछन् । डोपिङ प्रकरणमा रुसलाई प्रतिनिधित्व गर्दै सहभागी हुन नपाइने भएको हो ।

स्विट्जरल्यान्डको लुसानेमा बसेको वाडाको कार्यकारी समितिको बैठकले यो प्रस्ताव सर्वसहमतिले पारित गरेको हो । रुसको डोपिङ नियमन एजेन्सी रुसाडाले २०१९ को जनवरीमा जाँचकर्ताले दिएको ल्याब डेटामा हेरफेर गरेको पत्ता लागेपछि वाडाले रुसलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

यसअघि रुसलाई तीन वर्षको प्रतिबन्ध लगाइएको थियो । सन् २०१८ मा रुसको डोपिङ एजेन्सीले वाडाको सर्तअनुसारको तथ्यांक उपलब्ध गराएपछि प्रतिबन्ध हटाएको थियो । वाडाको यो प्रतिबन्धविरुद्ध रुसले २१ दिनभित्र अपिल गर्न सक्नेछ । यदि रुसले अपिल गरेमा प्रतिबन्ध सम्बन्धि अन्तिम निर्णय ‘खेलकुद मध्यस्थता अदालत’ले गर्नेछ । २०१४ को सोची शीतकालीन ओलम्पिकका क्रममा रुसमाथि प्रतिबन्ध लगाइएको थियो । जसकारण गतवर्ष दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा रुसका १६८ खेलाडीले स्वतन्त्र रूपमा सहभागिता जनाएका थिए । रुसमाथि एथ्लेटिक्समा भाग लिन २०१५ देखि प्रतिबन्ध छ । यस प्रतिबन्धका बाबजुद उसले २०२० को युरोकपमा भने सहभागिता जनाउन पाउनेछ । यो प्रतियोगिता रुसकै सेन्ट पिटर्सबर्गमा हुँदैछ ।

Featured