कोहलपुर, मंसिर २३–बाँकेको कोहलपुरमा स्कुल जाने क्रममा ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि उत्पन्न तनावका कारण सोमबार त्यहाँका विद्यालय बन्द भएका छन् । आइतबार विद्यालय आउँदै गरेकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका बनाएपछि विद्यार्थीहरुले ट्रकमा आगजनी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले विद्यालय हाताभित्रै प्रवेश गरेर विद्यार्थीहरुमाथि धरपकड गर्नुका साथै गोली प्रहार गरेको थियो । प्रहरीको धरपकडका क्रममा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । उनीहरुको बीएनबी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र प्रदर्शकारीबीच झडपका क्रममा १९ जना विद्यार्थी र ४० जना प्रहरी घाइते भएका थिए । घाइतेमध्ये ११ जना विद्यार्थी र १५ जना प्रहरीको अवस्था गम्भीर रहेको छ ।
सो क्रममा विद्यार्थीहरु सुशील थापा, ललित बस्नेत, पूजा मल्ल, विशाल खड्का घाइते भएका छन् । यसैगरी लक्ष्मी कठायत, विक्रम शाह, ललित कटुवाल, महेश आचार्य, चित्रबहादुर रिजाल, अर्जुन परियार, दमन शाही, श्रीकान्त शर्मा, सुनिल थारु, नारायण खत्री, माधव पुलामी, सृजना चन्द र भरत दमाई घाइते भएका छन् । घाइत ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि घर फर्किएका छन् । विद्यालयका तर्फबाट प्रधानाध्यापक देवका बस्नेत थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर रानाले विज्ञप्ति जारी गर्दै विद्यालय हाताभित्र प्रवेश गरेर बर्बर दमन गरेको भन्दै खेद व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शान्ति क्षेत्र हो । बालबालिकाले भयमुक्त वातावरणमा अध्ययनअध्यापन गर्न पाउनुपर्ने नैसर्गिक अधिकारको प्रहरी प्रशासनले खिल्ली उडाएको महसुस भएको छ । बालबालिकामाथि गोली प्रहार गरी मनोवैज्ञानिक त्रास सिर्जना गर्ने दोषीमाथि निष्पक्ष छानविन गरी कडा कारबाहीका लागि जोडदार माग गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस