खेलकुद विदेश

भार्डीले गरे लगातार ८ खेलमा गोल, एस्टन भिल्ला पराजित

एजेन्सी, मंसिर २३–इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार राम्रो प्रदर्शन गरिरहेको लेस्टर सिटीले निरन्तर जितको यात्रा कायम राखेको छ । लेस्टरले लगातार जितको यात्रा ८ खेलसम्म लम्ब्याउँदा जेमी भार्डीले ८ वटै खेलमा गोल गरेका छन् । भार्डीको दुई गोल मद्दतमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको लेस्टरले दोस्रो हाफमा थप दुई गोल गरेको हो । भार्डीले २० औँ तथा केलिची इहिनाचोले ४१ औँ मिनेटमा गोल गरेका हुन् । एस्टन भिल्लाका लागि पहिलो हाफको इन्जुरी समयमा ज्याक ग्रेएलिशले गोल गरे भने लेस्टरका लागि ४९ औँ मिनेटमा जोनी इभान्स र ७५ औँ मिनेटमा भार्डीले गोल गरेपछि ४–१ को जित दर्ता गरेको हो ।

जितपछि दोस्रो स्थानको लेस्टर सिटीको १६ खेलबाट ३८ अंक भएको छ । लेस्टर शीर्ष स्थानको लिभरपुल भन्दा ८ अंकले पछि रहेको छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई ६ अंकले पछि पारेको छ । लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा न्युक्यासलले साउथह्याम्पटन तथा शेफिल्ड युनाइटेडले नर्विच सिटीलाई समान २–१ ले नै पराजित गरेको छ भने ब्राइटन र वुल्भ्सले २–२ गोलको बराबरी खेलेका छन् ।

Featured