देश

सुदूरपश्चिम महोत्सव सुरु, पूर्वमन्त्री रावलसमक्ष सातबुँदे माग पेश

धनगढी, मंसिर २२–सुदूरपश्चिम महोत्सव आजदेखि धनगढीमा सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा उद्योग वाणिज्य संघ कैलालीले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्रा्ष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्नेलगायतका सातबुँदे माग रावलसँग राखेको छ ।

महोत्सव उद्घाटनको अवसरमा आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघले मन्त्री रावललाई सात किलोको माला पर्हियाउँदै सातबुँदे मागपत्र पेश गरेको हो । सो अवसरमा मन्त्री रावलले माग पूरा गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । उनले धनगढीको गौरिफन्टा नाका बन्द हुन नहुने बताउँदै सो नाका विस्तार गर्न भारतले विभिन्न बहाना नबनाई विस्तारमा जोड दिनुपर्ने बताए ।

धनगढी विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने, दार्चुलाको तिंकर नाकालाई विस्तार गर्ने, कञ्चनपुरमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई गतिशीलता प्रदान गर्नेलगायतका महत्त्वपूर्ण योजनाहरूमा केन्द्र सरकारले चासो दिनैपर्ने उनको जिकिर छ । साथै, उनले कैलाली उद्योग वाणिज्य संघले राखेको कर छुटलगायत माग सम्बोधनका लागि प्रदेश सरकारले समेत तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

संघीय सांसद नारदमुनि रानाले सुदूरपश्चिमको विकासका लागि प्रदेशका सबै एकजुट हुनुपर्ने बताए । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले राजनीतिक स्थिरिता कायम भएकाले अब प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको बताए । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सरकार गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षबाट केही गतिशीलताका साथ काममा अघि बढेको बताए । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश र संघ सरकारले सुदूरपश्चिमको समृद्धिका लागि ठोस योजना बनाउनुपर्नेमा जोड दिए । सुदूरपश्चिम महोत्सव २२ पौषसम्म चल्नेछ ।

Featured