देश

घूस लिएर फेल विद्यार्थी पास गराउने त्रिवि कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, मंसिर २२–विद्यार्थीसँग घूस लिएर उत्तरपुस्तिका साटफेर गरी पास गराइदिएको अभियोगमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित दुई जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभर पेज राखेर भित्री पानामा विज्ञलाई अर्को उत्तर लेख्न लगाएर पास गराएको अख्तियारको अभियोग छ । दाहाललाई त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका विद्यार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हीरा कटुवालको परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिएर साटफेर गरी पास गराएर पदीय दुरुपयोग गरेको अख्तियारको दाबी छ ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही बास्तविक कभरपेजमा स्टिज लगाउने गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी निजहरु जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिकाहरु तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुर गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाइघाटकी परीक्षार्थी हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवाललाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा लेख्न लगाई परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट आफूले लिई कमलप्रसाद दाहाललाई दिई उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिनेदिलाउने कार्यमा मतियार भई निजले भष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरमा भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज तेजनारायण चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्नेलाई सरह सजाय हुन मागदाबी लिइएको छ ।

साथै जानुका आलेमगर र हिरा कटुवालले परीक्षा केन्द्रमा एउटा उत्तरपुस्तिकामा लेखी पुनस् सोही बिषयको उत्तरपुस्तिका परीक्षा केन्द्र भन्दा बाहिर लेखी एक आपसमा साटफेर गर्नरगराउन त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका तेजनारायण चौधरीलाई दिई निजले उक्त उत्तरपुस्तिकाहरु त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाललाई दिई निजले उत्तरपुस्तिकाहरु साटफेर गरीरगराई परीक्षाको परिणाममा फेरबदल गर्ने कार्यमा मतियार भई निजहरु जानुका आलेमगर र हिरा कटुवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरको मतियार भई परीक्षाको परिणाम फेरबदल गर्न लगाई लाभ प्राप्त गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजहरु जानुका आलेमगर र हिरा कटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Featured