देश

नेपालमा २ लाख २५ हजार पर्ने लागूऔषधको रसाइन न्युजिल्याण्डमा ५० लाख

काठमाडौं, मंसिर २२–लागूऔषध कारोबारका नाइके चिनियाँ नागरिक झाङ चावलाई प्रहरीको लागूऔषध नियन्त्र ब्यूरोले शनिबार साँझ पक्राउ र्गयो । उनको साथबाट प्रहरीले ४ किलो २ सय ग्राम सहायक रसाइन इफ्रेडिनसमेत बरामद गरेको छ । प्रहरीका अनुुसार चीनबाट उक्त लागूऔषध उनले नेपाल हुँदै न्युजिल्याण्ड पठाउनका लागि नेपाल ल्याएका थिए । उनी लागूऔषधका अन्तर्रा्ष्ट्रिय कारोबारी रहेको खुलेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र बस्यालले बताए ।

न्युजिल्याण्डमा रसाइन इफ्रेडिनको मूल्य ५० लाख
प्रहरीका अनुसार लागूऔषध बनाउने रसाइन इफ्रेडिनको नेपालको मूल्य करिब २ लाख २५ हजार रुपैयाँ रहेको छ । तर, सोही रसाइनको मूल्य न्युजिल्याण्ड पुग्दा ५० लाखमा कारोबार हुने लागूऔषध ब्यूरोले जनाएको छ । त्यसैको लोभमा उनले चीनबाट उक्त रसाइन नेपाल ल्याएको बस्यालको भनाइ छ । यसअधि २०७३ मा प्रहरीले लगनखेलस्थित आर्यमार्फबाट ४ सय ७१ दशमलव ८८ किलो स्युडोइफ्रेडिन ट्याब्लेटसहित सिटिकल्सका सञ्चालकलाई पक्राउ गरेको थियो ।

कार्गोबाट पठाउन खोज्दा प्रकाउ
इफ्रेडिन रसाइनलाई झाङ चावले शनिबार कार्गोबाट न्युजिल्याण्ड पठाउने तयारी गरेका थिए । उनले कागजको डिब्बाभित्र काठको फ्रेममा प्याक गरेर उक्त रसाइन पठाउन ठमेलस्थित एक कार्गोमा पुगेका थिए । त्यहाँ प्रहरीलाई शंका लागेपछि उनले न्युजिल्याण्ड पठाउन लागेको डिब्बा खोलेर चेकजाँच गर्दा काठको फ्रेममा फल्स बटम बनाएर उक्त रसाइन राखेको भेटिएको एसपी बस्यालले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured