खेलकुद देश

बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

काठमाडौं, मंसिर २२–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ११औं मिनेटमा सुनील बलले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा गोलका लागि थुप्रै अवसर सिर्जना भए पनि दुवै टिम फिनिसिङमा चुकेपछि सुनीलको गोल नै निर्णायक बनेको थियो ।

एक गोलले पछाडि परे पनि बंगलादेशले नेपाललाई निरन्तर दबाबमा राखेको थियो । गोलका लागि बंगलादेशले बनाएका आकर्षक मुभ नेपालका डिफेन्डर तथा गोलकिपरले असफल बनाएपछि नेपालले फाइनलमा स्थान पक्का गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी टाइममा बंगलादेशका कप्तान दोहोरो पहेलो कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै नेपालले फाइनलमा भुटानसँगको भिडन्त पक्का गरेको छ । उत्कृष्ट प्रदर्शन गर्दै भुटान इतिहासमा पहिलोपटक साग फुटबलको फाइनलमा पुग्न सफल भएको थियो ।

Featured