देश

महाकालीको बगर, रोजगारीको थलो

कञ्चनपुर, मंसिर २२–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदुरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्तीछेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महतोको भनाइ छ । उनको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । ’आपूसित भएको चार कट्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो,’ उनले भनिन्, ’गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा चाल्नु नियति नै बन्यो ।’ दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उनका लागि मुख्य चुनौती बनेको छ ।

महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौं बासिन्दा महाकालीको बगरमा मजदुरी गरिरहेका भेटिन्छन् । ’असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारीस्थल भनेकै महाकालीको बगर हो,’ खल्लाका मनोज लावडले भने, ’बगरकै कमाइले बच्चाको स्क’ल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानें ।’ गाउँका प्रायः बेरोजगार स्थानीयवासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै ब्यस्त हुने गरेको लावडको भनाइ छ । ’गिट्टीको प्रतिट्रली ३ हजार रुपैयाँ र बालुवाको १ हजार रुपैयाँमा बगरमै बिक्री गर्छौं,’ उनले भने, ’अहिले भारत जानेको संख्याभन्दा बगरमै काम गर्नेहरूको संख्या बढ्दै गएको छ ।’

त्यसैगरी भीमदत्त नगरपालिका– ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताइन् । त्यसैगरी, महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । ’जग्गा छैन, बालुवा बेचेर घरखर्च चलाउनुपर्छ,’ उनले भनिन्, ’सरकारले अन्य कुनै सीपमूलक तालमि दिएको भए यहाँ बालुवासित संघर्ष गर्नुपर्ने अवस्था आउने थिएन । महाकाली बगर नै हामीह?को रोजगारीको थलो बनेको छ ।’ (रासस)

Featured