खेलकुद देश

गौरिकाले गरिन् स्वर्णमा ऐतिहासिक ह्याट्रिक

काठमाडौं, मंसिर २२–१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले तेस्रो स्वर्ण पदक जित्दै ह्याट्रिक गरेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो स्वर्ण जितेकी हुन् । यससँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी छिन् । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

ओलम्पिकमा समेत नेपालको प्रतिनिधित्व गरिसकेकी गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनेट २५.२८ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारेकी हुन् । सो स्पर्धामा भारतकी शिवांगी शर्माले ४ मिनेट २६.२२ सेकेण्डको समय निकाल्दै रजत जितिन् भने ४ मिनेट ४१.९१ सेकेण्डमा पूरा गरेकी श्रीलंकाकी खेलाडीले कास्य पदक जितिन् ।

यसैगरी, पौडीको २ सय मिटर बटरफ्लाइमा नेपालकी डुवाना लामाले रजत पदक जितेकी छिन् । डुवानाले २ मिनेट ३३.१६ सेकेण्डको समय निकालेकी थिइन् । भारतकी अपेक्षा डिलेले २ मिनेट २१.८३ सेकेण्डको समय निकाल्दै स्वर्ण पदक कब्जा गरिने भने बंगलादेशकी जुनेया अहमदले २ मिनेट ३३.७५ सेकेण्डसहित कास्य हात पारिन् ।

Featured