देश राजनीति

उपनिर्वाचनबाट कांग्रेस झन् कमजोरः साह

रौतहट, मंसिर २२–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख बनेको टिप्पणी गरेका छन् । आज (आइतबार) रौतहटको कटहरिया नगरपालिका–१, जमुनियामा समृद्धिका लागि जनप्रतिनिधिको भूमिकासम्बन्धी अन्तर्क्िरयामा बोल्दै अध्यक्ष साहले हालै सम्पन्न उपनिर्वाचनको मतपरिणामले स्पष्ट रूपमा कांग्रेसको पतन देखाएको जिकिर गर्दै मधेशमा मात्र नभई सिंगो देशमै कांग्रेसको जनाधार खस्किएको बताए।

उनले २०७४ मा सम्पन्न विर्वाचनको मतपरिणामको तुलनामा कांग्रेसको नतिजा तल खस्किएकाले जनताले कांग्रेसलाई नरुचाएको दाबी गरे । ‘गत हप्ता सम्पन्न उपनिर्वाचनको नतिजा यहाँहरूले हेर्न सक्नुहुन्छ । कांग्रेसले २०७४ सालको निर्वाचनभन्दा पनि कमजोर नतिजा ल्याएको छ,’ साहले भने, ‘त्यतिबेला औसतमा ३३ प्रतिशत स्थानमा जितेको कांग्रेस अहिले २५ प्रतिशतमा सीमित भएको छ । यो कांग्रेसको पतनको सुरुवात हो । नेकपाले गत निर्वाचनमा औसत ५५ प्रतिशत स्थानमा जितेको थियो थियो भने उपनिर्वाचनमा त्यो बढेर ६० प्रतिशत पुगेको छ । यसले स्पष्ट जनादेश दिएको छ कि नेपालमा कम्युनिष्टको विकल्प छैन ।’

विगतमा मुलुकमा बेथिति सिर्जना गरेको कांग्रेस हाल विकासविरोधी भएको आरोप लगाउँदै उनले भने, ‘कांग्रेस एजेन्डाविहीन पार्टी भएकाले उसले निर्वाचनमा एउटा मात्र विषय उठायो । त्यो भनेको विभिन्न नाममा वर्तमान सरकारको विरोध गर्नु । जबकि वर्तमान सरकार जनताका लागि काम गरिरहेको तपाईं हामी स्वयमले अनुभव गरिरहेका छौं । तर, कांग्रेसले न त २०७४ को चुनावमा विकास र समृद्धिको विषयमा केही बोल्यो, न हालैको उपनिर्वाचनमै केही बोल्यो । उसले विकास र समृद्धिको विरोध मात्र गरिरह्यो ।’

Featured