देश

स्याङ्जामा प्रेस संगठनको एकता टुंगो

वालिङ, मंसिर २२–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपाल स्याङ्जा शाखाको एकता टुंगिएको छ । प्रेस संगठन नेपाल केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लामा क्रियाशील प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता गरिएको हो ।

चौतारी र सेन्टरका पदाधिकारीहरुको भेलाले तत्कालीन प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा एकता गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जासहित सात वटा जिल्लामा प्रेस चौतारीलाई संयोजक र अन्य चार जिल्लामा प्रेस सेन्टरलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएबमोजिम स्याङ्जामा न्यौपानेले संयोजकको नेतृत्व प्राप्त गरेका हुन् ।

नवगठित संगठनको सहसंयोजकमा तत्कालीन प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले छन् भने सदस्यमा गोपाल जिटी, हरिप्रसाद सुवेदी, बिनाकुमारी गैरे, कला राना, मणिप्रसाद अर्याल, माधव गैरे, नारायण विश्वकर्मा, नारायण अर्याल र शालिकराम पोख्रेल रहेका छन् ।

संयोजक न्यौपानेले प्रेस संगठन जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने बताए । उनले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको क्षमता विकासका लागि र सांगठनिक हिसाबले सहयोग गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक न्यौपानेले बताए । (रासस)

Featured