देश

एनसेललाई कर तिर्न १५ दिनको म्याद, प्रमुख वित्त अधिकृतले बुझे पत्र

काठमाडौं, मंसिर २२–ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई १५ दिनभित्र कर बुझाउन पत्राचार गरेको छ । २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गर्दै कार्यालयले एनसेलका प्रमुख वित्त अधिकृत उमेश ढुंगानालाई शुक्रबार यससम्बन्धी पत्र बुझाएको हो ।

भदौमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्न भनेको थियो । कर कार्यालयले वैशाख यताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ बुझाउन एनसेललाई १५ दिने म्याद दिएको हो । यसअघि, टेलियासोनेराले एनसेलको स्वामित्व एक्जिएटालाई बिक्री गर्दा भएको कूल १ खर्ब ४३ अर्ब रुपैयाँ पुँजीगत लाभमध्ये त्यसको २५ प्रतिशत अर्थात् करिब ३५ अर्ब ८१ करोड रुपैयाँ लाभकर तिर्नुपर्ने ठहर कर कार्यालयले गरेको थियो ।

सर्वोच्चले एनसेल बिक्रीको पुँजीगत लाभकर खरिदकर्ता एक्जिएटा वा एनसेलकै हुने फैसला गरेपछि कर कार्यालयले एनसेलमाथि ब्याज र जरिवानासमेत गरी ३९ अर्ब ६ करोड रुपैयाँ संशोधित कर निर्धारण गरेको थियो । कर कार्यालयले ७ दिनको म्याद दिँदै कर तिर्न भने पनि एनसेलले त्यसको वेवास्ता गर्दै वैशाख ९ गते सर्वोच्चमा कर कार्यालयविरुद्ध रिट हालेको थियो । सोही रिटको अन्तिम सुनुवाई गर्दै सर्वोच्चले एनसेलमाथि लगाइएको १७ अर्ब ९५ करोड रुपैयाँ जरिवाना मिनाहा गर्दै २१ अर्ब १० करोड रुपैयाँ मात्रै असुल्न भनेको थियो ।

Featured