देश

लमजुङमा बस दुर्घटनाः एकको मृत्यु, सात घाइते

पोखरा, मंसिर २२–लमजुङमा बस बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सदरमुकाम बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान दुर्घटना भएको हो । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुर्घटनामा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । गम्भीर बनेकी उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले बताए । मृतकको विवरण खुल्न सकेको छैन । गुरुङका अनुसार बस सडकबाट एकसय मिटर तल खोलामा खसेको छ । दुर्घटनाका घाइतेमध्ये चार जनालाई उपचारका लागि चितवन लगिएको छ । अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Featured