देश

पेट दुखेपछि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

सुर्खेत, मंसिर २१–सुत्केरी व्यथा लागेकी जाजरकोट नलगाड नगरपालिका– ६ की माया बिकको हेलिकोप्टरमार्फत्र उपचारका लागि सुर्खेत ल्याइएको छ । पेट दुखेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइरहेकी महिलाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

पेट दुखेर स्थानीय नलगाड गाउँपालिका– ४ रहेको स्वास्थ्य संस्थामा उपचार गरिरहेको अवस्थामा नगरपालिका र स्वास्थ्य इकाईका प्रमुखको सिफारिसमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको हो । सुत्केरी ब्यथा लागेर तीन दिन स्थानीय अस्पतालमा उपचार गरिरहेको र सुत्केरी हुन नसकेको भन्दै प्रदेश अस्पतालमा रिफर गरिएकी बिकले भने सुर्खेत अस्पताल आएर सुत्केरी व्यथाले नभई सामान्य पेट मात्र दुखेको चिकित्सकलाई बताएकी छन्।

सामान्य अवस्थामा बिरामी रहेकी बिकको थप उपचारका लागि प्रदेश अस्पतालमा र्पुयाइएको र यहाँ उपचार गर्दा सुत्केरी ब्यथा नलागेको अवस्था नै रिफर गरिएको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपिरटेन्डेन्ट डा. डम्बर खड्काले बताए । ‘उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्नु आवश्यक थिएन,’ उनले भने, ‘गाडीबाट पनि ल्याउँदा हुने अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिनु राज्यको सम्पतिको दुरूपयोग हो ।’

बिकको गर्भवती हुने महिना पुगेको र गर्भवती अवस्थामा विभिन्न कारणले महिलाको सामान्य पेट दुख्नेलगायतका लक्षण देखिने भए पनि बिकको अवस्था सामान्य रहेको बेला नै हेलिकोप्टरमार्फत् उद्धार गरिरहेको मेसु डा. खड्काले बताए । बिकलाई स्थानीय स्वास्थ्य संस्थामा तीन दिन राखिएको र अहिले थप उपचारका लागि सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जाजरकोट नलगाड नगरपालिका– ४ का सचिव लक्ष्मी रावलले बताए ।

सुत्केरी महिलाको अवस्था गम्भीर रहेको रिपोर्ट नलगाड नगरपालिकाका प्रमुख, वडा कार्यालय र स्वास्थ्य चौकीले खबर गरेपछि हेलिकोप्टरमार्फत् महिलाको उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । ‘यहाँबाट नलगाड पुग्न करिब ५ घण्टा लाग्छ,’ उनले भने, ‘प्रहरी जान सक्ने अवस्थामा थिएन । जिम्मेवार व्यक्तिहरूको फोन आएका कारणले रिफर गरिएको हो ।’

Featured