देश

काठमाडौंमा तेजाब तथा पोलाइसम्बन्धी आक्रमणविरुद्ध जनचेतनामूलक अन्तरकृया

काठमाडौं, मंसिर २२–काठमाडौंस्थित नेश्नल कलेजमा तेजाब तथा पोलाइसम्बन्धी आक्रमणविरुद्ध जनचेतनामूलक अन्तरकृया कार्यक्रम गरिएको छ । ‘मडक’ नामक संस्थाको आयोजना तथा नेश्नल कलेजको संयोजनमा तर्क्बिर्तक शीर्षकमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरूले तेजाब हान्ने, पोल्नेजस्ता अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै, नेश्नल कलजेजका छात्र सौगात वाग्लेले तेजाब आक्रमणका घटनाहरूका बारेमा जानकारी गराएका थिए ।

यस्तै, मोडेल निती शाहले तेजाब आक्रमणमा परेकी सङ्गीता पुलामी मगरलाई भेटेर कार्यक्रममा सहभागी हुनका लागि प्रेरित गरेको भन्दै यस्ता संवेदनशील कुरामा सबै सचेत हुनुपर्ने बताइन् । संस्थाकी अध्यक्ष तथा आफैंमा मनोसामाजिक परामर्शकर्ता मिनाक्षी राणाले धेरै बिरामी तथा पीडितहरूलाई शारीरिकभन्दा बढी मानसिक परामर्शको खाँचो पर्ने बताइन् । कार्यक्रममा पोलाइसम्बन्धी आक्रमणबाट पीडित एवम् उद्यमी सविता महतले त्यही पीडाबाट आफू झनै आत्मविश्वासी भई एक उदाहरणीय पात्र बन्न सकेको बताइन् ।

जीवनमा आइपर्ने हरेक पीडालाई स्वीकार गर्न सक्ने क्षमता आफैंले विकसित गर्नुपर्ने उनको भनाइ थियो । दुई सन्तानकी आमा महतले आफ्ना संघर्ष र सुखका क्षण सुनाउँदै समाजलाई पनि विम्बकै रूपमा सही पुस्तकको गाता हेरेर अक्षरलाई कल्पना नगर्न पनि आग्रह गरिन् । सहभागीहरूको प्रश्नको जवाफ दिदैं रञ्जित थापाले तेजाब तथा पोलाइसम्बन्धी आक्रमणमा परेका पीडितहरूका निम्ति सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्राथमिक उपचार निरन्तर आधा घण्टासम्म पानीको फोहोराले पोलिएको ठाउँमा धुनु वा छ्याप्नु नै भएको जानकारी दिए ।

कार्यक्रममा तेजाव तथा पोलाइसम्बन्धी आक्रमणमा परेका व्यक्तिहरूको सामाजिक एवम् मानसिक पुनर्स्थापनामा कार्यरतसंस्था अस्तित्व नेपालकी अध्यक्ष मिनाक्षी राणा, उद्यमी तथा पोलाइसम्बन्धी आक्रमणबाट पीडित सविता महत, त्रिवि शिक्षण अस्पतालमा विगत २७ वर्षदेखि तेजाब तथा पोलाइसम्बन्धी आक्रमणमा परेकाहरूको सेवामा लागेकी नर्स अर्चना रन्जित, श्रीमानबाट तेजाब आक्रमणमा परेकी जेनी खड्का, साउथ एसियन फाउन्डेसनका अध्यक्ष निश्चलनाथ पाण्डे, नायिका आना शर्मा, नायिका सिल्पा मास्के, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देललगायतको सहभागिता थियो । तेजाब तथा पोलाइसम्बन्धी आक्रमण, यसका असरलगायतका विषयमा जानकारी गराइएको सो कार्यक्रम निकै फलदायी भएको आयोजक संस्था ‘मडक’ का सदस्य क्रिनेश मानन्धरले बताए ।

Featured