देश

निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

मेलम्ची, मंसिर २२–भूकम्पपछि सुरु भएको निजी आवास पुनर्निर्माण सिन्धुपाल्चोकमा करिब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुनर्निर्माण सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । ८६ हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकामा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनर्निर्माण अन्तिमअन्तिम भए पनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ । प्राधिकरणको कार्य्विधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् । तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करिब २ हजार ५ सय भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

‘कार्य्विधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो,’ किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् । पुनर्निर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ । सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीलाई भने प्रमाणपत्र दिन सकिँदैन,’ निरौलाले भने ।

वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनले बताए । ‘वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न सुरु गरिसकेका छन्, अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौँ,’ प्रमुख निरौलाले भने । भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्यांक हेर्ने हो भने अब जम्मा ३ हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण सुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्ताबापतको १ लाख रुपैयाँ हात पारिसकेका छन् । दोस्रो किस्ताको तथ्यांक हेर्दा अब ७ हजार ५०० मात्रै घर निर्माण हुन बाँकी छ । गुनासोबाहेक आउने दसैंभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए । (रासस)

Featured