देश

निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

मेलम्ची, मंसिर २२–भूकम्पपछि सुरु भएको निजी आवास पुनर्निर्माणको काम सिन्धुपाल्चोकमा करिब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुनर्निर्माण सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । ८६ हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकोमा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनर्निर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले छानो नहाल्दा भने समस्या भएको छ । प्राधिकरणको कार्य्विधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् ।

तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करीब दुई हजार पाँच सय भएको जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए । ‘कार्य्विधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो । किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् । पुनर्निर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ ।

सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाणपत्र दिन सकिँदैन’, निरौलाले भने । वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनको भनाइ छ । ‘वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न सुरु गरिसकेका छन्, अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौं’, प्रमुख निरौलाले भने ।

भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्यांक हेर्ने हो भने अब जम्मा तीन हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण शुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्तावापतको एक लाख हात पारिसकेका छन् । दोस्रो किस्ताको तथ्यांंक हेर्दा अब सात हजार ५०० मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनासोबाहेक आउने दशैँभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए ।रासस

Featured