खेलकुद विदेश

बालोन डी’ओर जितेपछिको पहिलो खेलमा मेसीको कीर्तिमानी ह्याट्रिक

एजेन्सी, मंसिर २२–स्पेनिस ला लिगामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वा्धिक ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । दुई साताअघि क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका मेस्सले गएराति रियल मार्लोकालाई ५–२ ले पराजित गर्ने क्रममा ह्याट्रिक गरेका हुन् । गत सातामात्रै कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका मेस्सीले त्यसपछिको पहिलो खेलमा ह्याट्रिक गरेका हुन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलको ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । १७औं मिनेटमा मेसीले गोल गर्दैं अग्रता दोब्बर पारे । ३५औं मिनेटमा माल्र्लोका अन्टे बुदिमिरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ४१ औं मिनेटमा मेसीले अर्को गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो भने ४३ औं मिनेटमा लुईस स्वारेजले गोल बार्सिलोनाका लागि चौथो गोल गरे ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले दोस्रो गोल गरे भने मेस्सीले ८३ औं मिनेटमा गोल गर्दै ह्याटिक गरे । ला लिगामा उनको यो ३५औं ह्याट्रिक हो। रियम मड्रिडबाट क्रिष्टियानो रोनाल्डोले ३४ ह्याटिक गरेका छन् । उनी अहिले इटालियन क्लब युभेन्टसबाट खेलिरहेका छन् । जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ भने गएरातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंकसहित दोस्रो स्थानमा छ ।

Featured