देश

धरानमा जब कांग्रेसले जित्यो

धरान, मंसिर २२–वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन र्हायो नेकपा ? जिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ। बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वा्चित भई कम्युनिस्ट विरासतलाई कायमै राखेका थिए। उपनिर्वाचनमा २६ हजार ७ सय ९ मत प्राप्त गरी मेयरमा कांग्रेसका तिलक राई मेयर निर्वा्चित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए।

नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन्। पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन्। पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ।

तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यस बेला ११ हजार १ सय ८० मत पाएका थिए। तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ। तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए। नवनिर्वा्चित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन्। आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured