देश

सरकारी जग्गा हत्याउँदै नेकपा नेता

झापा, मंसिर २२–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् । नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको खुलेको छ । पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ल प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । पौडेलाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरेर अनुसन्धन गरिरहेको छ । प्रारम्भीक अनुसन्धानबाट जग्गा कब्जा प्रयासमा उनको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । दुई कट्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको देखिएको अनुसन्धानबाट खुलेको छ । उनले उक्त जमिन कब्जा गर्न सरकारी छाप र हस्ताक्षर पनि दुरुपयोग गरेको पाइएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured