देश

पीडितलाई प्रहरीमा मुद्धा लेखाउनै सकस

सुर्खेत, मंसिर २१–नेत्रहिन संघ सुर्खेतकी मेनका आचार्यले दुव्र्यवहारका मुद्धा लिएर जाँदा प्रहरीले उल्टै तपाईसँग के प्रमाण छ भनी झपारे । तपाँईले आँखै देख्नुहुन्न दुर्व्यवहार कसले गरेको कसरी पत्ता लगाउने भन्दै प्रहरीबाट सहयोग पाइनन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिका, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) लगायतका संस्थाहरुले आयोजना गरेको प्यानल डिस्कसन कार्यक्रममा उनले खुलेरै सरोकारवाला निकायहरुको विरोध गरिन् ।

उनले भनिन्, ‘हामी आँखा देख्दैनौं तर हिंसा महशुस गछौं ।’ सरोकारवालाले नै न्याय माग्न जाँदा अपांगता भएका व्यक्तिहरुबाट खिल्ली उठाउने गरेको उनको आरोप छ । उनले आफूहरुले मुद्धा लेखाउन जाँदा प्रहरीले मुद्धा लेख्नै नमानेको बताइन् । त्यस्तै शिक्षक दीपक भट्टराईले समेत न्याय अझै पनि पहुँचवालाको हातमा भएको बताए । उनले पहुँच भए असत्यलाई पनि सत्य र सत्यलाई पनि असत्य गराई पीडितलाई दुःख दिने प्रचलन रहेको गुनासो गरे ।

कार्यक्रममा सहभागी अधिकांशले प्रहरी प्रशासनको कामप्रति प्रश्न उठाएका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममै पनि थुप्रै घटनाहरु घटेको भन्दै आवाज संस्था सुर्खेतकी सिनियर काउन्सिलर निशा पौडेलले हिंसाका कारक तत्व पत्ता लगाउनु पर्ने बताईन् । उनले अझै पनि अदालतहरुमा बैतनिक वकिलको सेवा निम्न वर्गका सर्वसाधारणको पहुँचमा नरहेको बताईन् । उनले वैतनिक विकलहरु सूचना प्रवाहमा चुकेको भन्दै निम्न वर्गका पीडितले सेवा पाउनुपर्ने धारणा राखिन् । प्यानल डिस्कसनको मुख्य वक्ताको रुपमा रहेकी सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाका प्रमुख विश्वमणी जोशीले हिंसा पीडितका लागि सरकारले आश्रय स्थलको व्यवस्था गर्ने बताइन् । उनले पछिल्लो समय हिंसा नबढेको बताउँदै उनले हिंसाका घटना बाहिर आएको बताईन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक डिला विकले दुर्व्यवहारका घटना दर्ता गर्दा अनुसन्धान गरी दर्ता गर्नुपर्ने बताईन् । उनले आफूहरुले सत्यतथ्य पत्ता नलगाई घटना दर्ता गर्न नमिल्ने बताईन् । उच्च सरकारी वकिलको कार्यालय सुर्खेतका उपन्याधिवक्ता केशवराज चपाइले भने आर्थिक अवस्था कमजोर र आर्थिक प्रलोभनमा परी दर्ता भएका मुद्धा समेत फिर्ता लिने चलन रहेको बताए । महिलाहरु मुद्धामा अडिक रहे न्याय दिन समेत सहज हुने उनको भनाई रहेको थियो ।

Featured