विदेश सूचना/ प्रबिधि

बगका कारण ग्राहकको व्यक्तिगत डेटा खतरामा

एजेन्सी, मंसिर २१–भारतकै तेस्रो ठूलो मोबाइल नेटवर्क एयरटेलमा एक प्राविधिक समस्या (बग) फेला र्पयो । यसले ३० करोडभन्दा बढी एयरटेलको नेटवर्क प्रयोगकर्ताको व्यक्तिगत डेटा समस्यामा पार्न सक्थ्यो । यो प्राविधिक कमजोरी एयरटेल मोबाइल एपको एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआई) मा देखिएको थियो । यसमार्फत ह्याकर्सले नम्बरहरूको माध्यमबाटै ग्राहकहरूका नाम, जन्ममिति, इमेल, ठेगाना, आइएमइआई नम्बरजस्ता विवरण प्राप्त गर्न सक्थ्यो ।

बिबिसीले एयरटेललाई यस बगबारे जानकारी दिएपछि कम्पनीले यसमा सुधार र्गयो । एयरटेलका एक प्रवक्ताले भने, ‘हाम्रो एक टेस्टिङ एपीआईमा प्राविधिक समस्या थियो । यो समस्याबारे हामीलाई जानकारी हुनासाथ सुधार गरिहाल्यौं ।’ प्रवक्ताले थपे, ‘एयरटेलको डिजिटल प्लेटफार्म अत्यधिक सुरक्षित छ । ग्राहकको गोपनीयता हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । हामी आफ्नो डिजिटल प्लेटफार्मको सुरक्षा सुनिश्चित गर्न सर्वोत्तम व्यवस्था गर्छौं ।’ यस बगबारे स्वतन्त्र सुरक्षा अध्ययनकर्ता एहराज अहमदले जानकारी पाएका थिए । उनले बिबिसीलाई भने, ‘मलाई यस कमजोरीबारे थाहा पाउन मात्र १५ मिनेट लाग्यो ।’

भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) को रिपोर्टअनुसार सन् २०१९ को अन्त्यसम्म एयरटेलका करिब ३२ करोड ५० लाख उपभोक्ता छन् । यसै वर्ष अक्टोबरमा ‘जस्ट डायल’ नामक स्थानीय सर्च सर्भिसले आफ्नै एपिआईमा कमजोरी पत्ता लगाएको थियो । यस कमजोरीका कारण भारतमा उसका १५ करोड ६० लाख प्रयोगकर्ता प्रभावित हुन सक्थे ।

जस्ट डायलले यस बगका कारण एक विशेषज्ञ ह्याकरले केही सूचनाको सूत्र फेला पार्न सक्ने कुरा स्वीकार गरेको थियो । युरोपियन युनियनको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जिडिपिआर) को ढाँचामा भारत सरकारले सन् २०१८ मा व्यक्तिगत सूचना सुरक्षा कानुनको मस्यौदा तयार गरेर प्रस्तुत गरेको थियो ।

यस प्रस्तावित कानुनमा डेटा संकलन, प्रशोधन र भण्डारण गर्नेसम्बन्धी नियम सुझाइएका छन् । यसमा दण्ड र क्षतिपूर्तिका प्रावधान राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षताको केन्द्रीय संसदले ४ डिसेम्बरमा व्यक्तिगत सूचना संरक्षण विधेयकमा सहमति जनाएको छ । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बुधबार सम्पन्न क्याबिनेटको एक बैठकपछि पत्रकार सम्मेलनमा भने, ‘छिट्टै पेस गरिने विधेयकबारे धेरै जानकारी दिनु उचित हुँदैन ।’

Featured