देश

सम्मान र प्रचारप्रचारमै ५६ लाख स्वाहा !

सुर्खेत, मंसिर २१–कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रथम चौमासिकमा दिवस, सम्मान र प्रचारप्रचारमा करिब ५६ लाख रुपैयाँ खर्चिएको छ । चार महिनाको अवधिमा मन्त्रालयले १३ कार्यक्रममध्ये १० वटा विभिन्न दिवसीय कार्यक्रममा ५५ लाख ९७ हजार ५ सय रूपैयाँ खर्च गरेको हो । यो अवधिमा अन्य ३ वटा कार्यक्रम भने नीति तथा कार्य्विधि निर्माण गरी मन्त्रालयले १ लाख २७ हजार ५ सय खर्च गरेको सूचना अधिकारी राजनप्रसाद आचार्यले बताए । उनका अनुसार चार महिनाको अवधिमा मन्त्रालयले मानसिक स्वास्थ्य, धुम्रपान, मध्यपान, लागूपदार्थ, न्यूनीकरणसम्बन्धी प्रचारप्रसार तथा सामग्री उत्पादन कार्यक्रममा ३३ लाख १० हजार खर्च गरेको छ ।

त्यस्तै आकस्मिक स्वास्थ्य सेवा कोष प्रचारप्रसार तथा सामग्री प्रकाशनको लागि ६ लाख, एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरका लागि ३ लाख, स्वास्थ्य अध्ययन तथा अनुसन्धान कार्यक्रमका लागि ५ लाख २० हजार रुपैयाँ खर्च गरेको आचार्यले बताए । त्यस्तै हिंसा प्रभावित व्यक्तिहरुका लागि प्रदेशस्तरीय दीर्घकालीन, अल्पकालीन पुर्नस्थापना केन्द्र सञ्चालन सहयोग कार्यक्रमको लागि १ लाख ४७ हजार, महिला बालबालिकासँग सम्बन्धित विभिन्न दिवस कार्यक्रम सञ्चालनका लागि २ लाख ४६ हजार र मनमोहन जेष्ठ नागरिक दिवस तथा सम्मान कार्यक्रमका लागि १ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । युवा कार्यक्रमहरुको प्रचारप्रसार तथा सामग्री उत्पादनको लागि ८५ हजार, विभिन्न खेलकुद आयोजना, खेलाडी प्रोत्साहन तथा सहयोगका लागि १ लाख ६१ हजार र राउटे समुदायको मुल प्रवाहीकरण कार्यक्रमको लागि १ लाख १२ हजार रुपैयाँ मन्त्रालयले खर्च गरेको उनले जानकारी दिए ।

चार महिनाको अवधिमा मन्त्रालयले विभिन्न ३ वटा नीति तथा कार्य्विधि निर्माण गरेको सूचना अधिकारी आचार्यले बताए । यसका लागि मन्त्रालयले १ लाख २७ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणसम्बन्धी नीति, कानुन मापदण्ड निर्माणका लागि ५३ हजार, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न नीति, कार्यक्रम तथा कार्य्विधि निर्माण, प्रकाशन, वितरणका लागि २३ हजार, प्रदेश स्तरमा रोजगार प्रवद्धनसम्बन्धी ऐन, नियम तथा कार्य्विधि निर्माणका लागि ५० हजार ३ सय ३८ रुपैयाँ खर्च भएको हो।

सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकले नयाँ संरचना तथा विद्युतीय बजेट प्रणालीका कारण पुँजीगत बजेट कार्यान्वयनको अवस्था न्यून देखिएको बताए । उनले मन्त्रालयले तयार गरेको चौमासिक प्रगति योजना आयोगमा प्रमाणित गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुझाउनुपर्ने भएकोले पनि कार्यान्वयन भएको बजेट प्रगतिमा नदेखिएको बताए । ‘विद्युतीय बजेट प्रणालीका कारण पनि कार्तिक महिनाको सबै बजेट प्रगतिमा देखिएन,’ उनले भने, ‘नयाँ संरचना निर्माण भएको कारण पनि बजेटलाई पुन विनियोजन गर्नुपर्ने बाध्यता भयो ।’ आगामी दोस्रो चौमासिकमा कम्तीमा पनि ४५ प्रतिशत बजेट कार्यान्वय गर्ने गरी मन्त्रालयले काम आगाडि बढाएको उनले बताए ।

आर्थिक वर्ष ०७६/७७ को प्रथम चौमासिकभित्र समग्रमा कर्णाली प्रदेश सरकारले नै बजेट कार्यान्वयन गर्न नसकेको बेला सामाजिक विकास मन्त्रालयले समेत बजेट कार्यान्वयन गर्न सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले चालुतर्फ १४ करोड ७३ लाख ८१ हजार ९ सय २८ रुपैयाँ र पुँजीगततर्फ ४ करोड ४ लाख ८० हजार ९ सय ५९ रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयको आन्तरिक आँकलनमा यो रकम एकदमै न्यून भएको सचिव विकले बताए । यद्यपि अन्य मन्त्रालयको तुलनामा सामाजिक विकास मन्त्रालयले धेरै बजेट खर्च गर्न सकेको उनले दाबी गरे । उनका अनुसार चालुतर्फ ७.३३ प्रतिशत र पुँजीगत तर्फ २.४३ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

Featured