खेलकुद देश

श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनलमा

काठमाडौं, मंसिर २१–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा भुटानले श्रीलंकालाई ३–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । सागमा सधैं समूह चरणबाटै बाहिरिने भुटानको यो इतिहासकै उत्कृष्ट प्रदर्शन हो ।

छिमी दोर्जीले १९औं मिनेटमा भुटानलाई पहिलो अग्रता दिलाएका थिए । ६९औं मिनेटमा दावा छिरिङले पेनाल्टीको सदुपयोग गर्दै अग्रता दोब्बर बनाए । यस्तै, खेलको ८०औं मिनेटमा एसि दोर्जीले तेस्रो गोल थप्दै फाइनल यात्रा पक्का गरे । जितसँगै भुटान ४ खेलमा ९ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । स्वर्ण पदकका लागि भुटानको प्रतिद्वन्द्वी नेपाल र बंगलादेशबीचको खेलबाट टुंगो लाग्नेछ ।

आइतबार साँझ ५ बजे नेपाल र बंगलादेश आमनेसामने हुँदैछन् । फाइनल पुग्न लागि नेपाललाई बराबरी नै काफी हुनेछ भने न्युन गोलअन्तरले पराजित भएमा पनि नेपालकै सम्भावना रहन्छ । दोस्रो स्थानमा रहेको नेपालको ७ अंक छ भने बंगलादेशको ४ अंक छ । यदि नेपालविरुद्ध बंगलादेशले जित निकालेको खण्डमा दुवै देशको समान ७ अंक हुनेछ । तर, ७ गोल गरेर २ गोल खाएको नेपालको गोलअन्तर ५ छ भने २ गोल गर्दा २ नै गोल खाएको बंगलादेशको गोलअन्तर शून्य छ । त्यसैले, बंगलादेशले फाइनल प्रवेशका लागि नेपाललाई कम्तीमा ५ गोलअन्तरले पराजित गर्नुपर्नेछ । तर, नेपालले जित, बराबरी वा न्युन अन्तरको हार जस्तोसुकै नतिजा निकालेपनि फाइनलमा स्वर्ण पदकका लागि भिडन्त भुटानसँगको भिडन्त पक्का गर्नेछ ।

Featured