खेलकुद देश

महिला फुटबल :नेपालका लागि भारत ‘फलामे च्यूरा’सरह

पोखरा, मंसिर २१–जारी १३औं सागअन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग १(० गोल अन्तरले पराजित भएको हो । खेलको १८औं मिनेटमा भारतकी एनजी बाला देवीले गरेको गोल नेपालको पराजयका लागि पर्याप्त बन्यो । डेंग्मी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् ।

केही सुनौला अवसर पाए पनि नेपालले त्यसलाई सदुपयोग गर्न सकेन । स्ट्राइकर सावित्रा भण्डारीलाई भारतीय खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् । यस खेलले नेपालको फाइनल यात्रामा भने केही असर पार्ने छैन । राउण्ड रोविनको यो अन्तिम खेल बाँकी छँदै दुवै टोली फाइनल प्रवेश गरिसकेको छ । फाइनल ‘प्रिभ्यू’को रूपमा हेरिएको यस खेलले नेपालको लागि भारत ‘फलामे च्यूरा’सरह कायमै रहेको देखाएको छ । यद्यपि, नेपालले यसको बदला लिने अवसर भने सकिएको छैन । सोमबार नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

समूह चरणका तीन खेल जितेको भारत नौ अंकसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अंकका साथ समूह उपविजेता बन्यो । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताए । ‘फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्नेछौँ,’ उनले भने ।

खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको र खेल अत्यन्त प्रतिष्पर्धापूर्ण भएको भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीको प्रतिक्रिया थियो । प्रतियोगितामा नेपाल र भारतसहित चार टोली सहभागी छन् । यसअघि नेपाल र भारत दुवै देशले श्रीलंका र माल्दिभ्सलाई पराजित गरेका थिए । तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २(१ गोलअन्तरले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको छ ।

Featured