खेलकुद देश

फेन्सिङमा रविनालाई रजत, ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल

काठमाडौं, मंसिर २१–१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी रविना थापाले फेन्सिङमा रजत पदक जितेकी छिन् । रविना बंगलादेशकी मुजिब फतिमासँग पराजित भएपछि नेपाल ऐतिहासिक स्वर्ण जित्नबाट वञ्चित भएको हो । फेन्सिङअन्तर्गत महिलातर्फको व्यक्तिगत साबरमा रविना फतिमासँग १५–१० ले पराजित हुँदै रजतमा चित्त बुझाइन् ।

उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गरेकी थिइन् । अस्मिता र भारतकी डायनादेवी थिंगुजामले सो स्पर्धामा कास्य पदक प्राप्त गरे । महिलाकै इपीमा भने नेपालका दुवै खेलाडी कास्यमा सिमित भए । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग स्तब्ध भएपछि कास्यमा सिमित भएका हुन् । यस स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शितल दलालले रजत पदक जिते ।

यस्तै, पुरुषतर्फ व्यक्तिगत फ्वेलमा पनि भारतीय खेलाडीकै दबदबा रह्यो । भारतका विनोथकुमार भेलाउथामले स्वर्ण र राजेश्वर सिंहले रजत जिते । श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मिया कास्य जित्न सफल भए । आइतबारबाट फेन्सिङअन्तर्गत टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछन् । फेन्सिङमा भारतले पाँच तथा बंगलादेशले एक स्वर्ण जितेका छन् ।

Featured