देश

अरुण तेस्रोको सुरुङमाथिबाट ढुंगा खसेर लाग्दा तीन मजदुर घाइते

संखुवासभा, मंसिर २१–संखुवासभाको मकालु गाउँपालिका निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत तीन जना मजदुर घाइते भएका छन् । शुक्रबार राति साढे २ बजे सो परियोजनाको सुरुङमाथिबाट एक्कासि खसेको ढुङ्गाले लाग्दा उनीहरू घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । राईका अनुसार सो परियोजनाको अडिट टु को सुरुङभित्र माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरू गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा मैइजुदिन अली, हस्तम अली र अबुदकर अली भएको संखुवासभा प्रहरीले जनाएको छ । प्रहरीले घाइतेको स्थायी ठेगाना खुलाउन चाहेन ।

घाइतेमध्ये एक जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि भारततर्फ लगिएको र अन्य दुई जनाको जिल्ला अस्पताल खाँदबारीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार घाइते मैइजुदिन भारतको आसाम नलबारी, हस्तम भारतको बर्बता जिल्ला र अबुदकर भारत अलिकाद्वार जिल्लाका हुन् । अरुण तेस्रोमा काम गर्ने क्रममा हालसम्म दर्जनौं मजदुर घाइते भइसकेका छन् ।

Featured