खेलकुद देश

माल्दिभ्समाथि नेपाल २–१ ले विजयी

काठमाडौं, मंसिर २१–१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो । १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले माल्दिभ्समाथि २–१ गोलको जित निकालेको हो । खेलको ११औं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट वञ्चित भएको थियो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरे पनि बारमा लागेर फर्केको थियो ।

माल्दिभ्सका लागि खेलको १८औं मिनेटमा यू–१९ टिमका कप्तानसमेत रहेका इब्राहिम महुदी हुसेनले गोल गरेका थिए । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन् टचमा सहजै गोल गरे । २७औं मिनेटमा हैसम हसानको कर्नरमा अनन्त तामाङको हेडरले गोलरक्षक बिट भए पनि हैसम हसानले गोल लाइनबाट उक्त प्रहार क्लियर गरे । त्यसको एक मिनेटमा नै गोलरक्षक विकेश कुथुले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै इब्राहिमलाई अर्को गोल गर्नबाट रोके ।

३१औं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो । ३५औं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् । ४२औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरिफले सफल हुन दिएनन् ।

तर, एक मिनेटलगत्तै अर्थात्, ४२औं मिनेटमा अभिषेक रिजाललाई माल्दिभ्सका किपरले रोक्न सकेनन् । डिबक्स बाहिरबाट भली गोल गर्दै अभिषेकले नेपाललाई १–१ को बराबारीमा फर्काएका हुन् । ५१औं मिनेटमा अनन्त तामाङले कर्नरबाट पाएको बललाई उम्कन दिएनन् र हेड गोल गर्दै २–१ ले नेपालको जित पक्का गरे । तर, खेलको ४३औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई खेलमा फर्काए । ३ खेलबाट ७ अंक जोड्दै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।

Featured