देश

उपत्यकामै अलपत्र एक किमी सडक

काठमाडौं, मंसिर २०–राजधानीमै एक किमी सडक निर्माण शुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित चामुण्डा मन्दिरबाट वडा नं ८ आरुबारी पुग्ने करीब एक किमी सडक वर्षौदेखि अलपत्र छ । आठ मिटर चौडाइको सडक कालोपत्र शुरु भएको दुई वर्ष बितिसक्यो तर काम सकिएको छैन । लामो समयदेखि सडक नबन्दा धुलोले टिक्न नसकिएको स्थानीय लालबहादुर रोक्काले गुनासो गरे ।

सडकमा कतै आयोजना सूचना पार्टीसमेत नराख्दा केही जानकारी पाउन नसकिएको उपभोक्ताको भनाइ छ । घर भत्काउन मुआब्जा दिनुपर्ने भएकाले उपलब्ध सडकमै कालोपत्र गर्न लागिएको सडक डिभिजन काठमाडौँका प्रमुख कैलाशनाथ श्रेष्ठले बताए । घर नपर्ने स्थानमा भने सडक आठ मिटर बनाइएको छ । आरुबारीबाट माथि जाने वैकल्पिक सडक भएकाले स्थानीयवासीलाई अनुरोध गरेर आठ मिटर कायम गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

सडक निर्माण गर्दा तल्लो भागमा ठूला ढल हाले पनि माथिल्लो भागमा सानो ढल हाल्दापछि समस्या आउने देखिएको स्थानीयवासी निशा लामाले बताइन । यो सडक निर्माण गरिरहेको पिआर निर्माण व्यवसायीसँग यससम्बन्धी लागत अनुमान मागे पनि पाउन नसकिएको उनको भनाइ थियो । सडक पाँच मिटर, दायाँबायाँ पेटी एकरएक मिटर तथा ड्रेन एक मिटर गरी आठ मिटरमा विस्तार गर्न आठ करोड बजेट विनियोजन भएको छ । एक महिनाभित्र काम सक्ने निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिएका सुपरभाइजर नारायण तिमल्सिनाको प्रतिबद्धता छ । (रासस)

Featured