देश

जाइकाको सहयोग महत्त्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौं, मंसिर २०–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग’ जाइकाले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा र्पुयाउँदै आएको सहयोग महत्त्वपूर्ण भएको बताएका छन् । जाइका अल्मुनाई एसोसिएसन अफ नेपाल जानको ४६औं वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एसियामा प्राकृतिक विपदसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले जाइका नेपालको महत्त्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्त्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै जापानले नेपालका सरकारी अधिकारीको क्षमता, सीप तथा ज्ञान अभिवृद्धिमा छात्रवृत्ति प्रदान गरी महत्त्वपूर्ण सहयोग र्पुयाउँदै आएको उल्लेख गरे । दक्षिण एसिया कुनै न कुनै प्रकारका प्राकृतिक विपदको जोखिममा रहेको उल्लेख गर्दै उनले नेपालले आगामी २१ र २२ चैतमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तर्रा्ष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, जाइका अल्मुनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज जाफ्सका अध्यक्ष मोहम्मद मोजाम्मेल हक खानले यस क्षेत्रको विकास निर्माणमा जाइकाले र्पुयाउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्मेलन अल्मुनाईबीच भेटवार्ता र अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने बताए । दक्षिण एशिया भूकम्प, बाढीपहिरो, सुनामीलगायत प्राकृतिक प्रकोपबाट प्रभावित रहेको सन्दर्भमा सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले प्रस्तुत गर्ने विपद् व्यवस्थापनसम्बन्धी कार्यपत्रमाथि छलफल हुने र आदानप्रदान हुने अनुभव तथा ज्ञान सबैका लागि उपयोगी हुने बताइएको छ ।

Featured