देश

भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने

चितवन, साउन ४ । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ ।महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीकाअनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाइसकेपछिमात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ ।

पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ ।सोहीअनुरुप रङ प्रदान गर्नसक्ने वा नसक्ने विषयमा विक्रेतासँगसमेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिए ।उनकाअनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।

चालू आर्थिक वर्षको सुरुआती चरणबाट कामलाई अघि बढाइने उनको भनाइ छ ।

महानगरभित्र सामूहिक आवास भवन (अपार्टमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र ‘अन्डरग्राउन्ड पार्किङ’ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरिएको छ । रासस