खेलकुद देश

१३ औँ साग : नेपालले ५० स्वर्ण नघाउने संकेत

काठमाडौं, मंसिर २०–१३औं दक्षिण एसियाली खेदकुद (साग)मा नेपालले अहिलेसम्म ४१ स्वर्ण जितेको छ । बिहीबार नेपालको स्वर्ण पदक संख्या ३६ थियो भने शुक्रबार ५ स्वर्ण थपिएसँगै ४१ पुगेको हो । नेपालले गल्फ, पौडी, भारोत्तोलन र एथ्लेटिक्समा गरी थप पाँच स्वर्ण जित्यो । पुरुष भारोत्तोलन ८९ केजी तौल समूहमा विकास थापाले स्वर्ण पदक उम्किन दिएनन् ।

गल्फको पुरुष एकलतर्फ नेपाललाई १७ वर्षीय सुभाष तामाङले स्वर्ण दिलाए । गल्फकै पुरुष टिम इभेन्टमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जित्यो । एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले नेपालको नाममा स्वर्ण थपे । नेपालकी गौरिका सिंहले महिला २ सय ब्याक स्ट्रोक पौडीमा स्वर्ण जितिन् । कुल ३ सय १८ स्वर्णमा नेपालले न्यूनतम ५० स्वर्ण जित्दै १३औं सागमा दोस्रो हुने लक्ष्य राखेको छ । नेपालबाट आश गरिएका अधिकांश खेल सकिए पनि अन्य खेलबाट नेपालले स्वर्ण जित्ने अपेक्षा गरिएको छ ।

अझै डेढ सयभन्दा बढी स्वर्णका लागि प्रतिस्पर्धा हुन बाँकी नै छ । समग्रमा नेपालले लिएको लक्ष्यअनुसार कम्तिमा ५० स्वर्ण हात पार्ने सम्भावना देखिएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले ५० स्वर्ण नाघ्ने दाबी गरेका छन् । सन् १९९९ मा भएको आठौं सागमा ३१ स्वर्ण जित्दै नेपाल दोस्रो भएको थियो ।

Featured