खेलकुद देश

गौरिकासामु भारतीय खेलाडीको केही लागेन, दुई स्वर्ण नेपालको नाममा

काठमाडौं, मंसिर २०–नेपालकी गौरिका सिंहले १३औं सागमा नेपाललाई व्यक्तिगत दोस्रो स्वर्ण दिलाएकी छन् । शुक्रबार महिला २ सय ब्याक स्ट्रोक पौडीमा निर्धा्रित दुरी २ मिनेट १७ दशमलव १३ सेकेन्डमा पूरा गरेर ओलम्पियन गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्न उनले भारतीय पौडबाज मनु राजिव पटेललाई पछि पारिन् । पटेलले २ मिनेट २० दशमलव ७१ सेकेण्डको समय निकाल्दै रजतमा चित्त बुझाइन् ।

यो स्पर्धामा श्रीलंकाकी गंगासेनले २ मिनेट २७ दशमवलव २५ सेकेण्डको समयसहित कास्य पदक जितिन् । शुक्रबारको जितसँगै गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । यसअघि बिहीबार पनि गौरिकाले महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण जितेकी थिइन् । सातदोबाटस्थित पौडी पोखरीमा बिहीबार भएको स्पर्धामा गौरिकाले व्यक्तिगत २ सय मिटर फ्रिस्टाइलमा भारतीय संवागी शर्मालाई पराजित गर्दै पौडीमा नयाँ इतिहास बनाएकी हुन् । भारतकी शर्माले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् ।

गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा नेपाललाई रजत र कास्य पदक दिलाएकी थिइन् । दक्षिण एसियाली खेलकुदमा गौरिकाले पौडीको व्यक्तिगततर्फ नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । यसअघि नेपालले पौडीमा टिम इभेन्टमा मात्रै स्वर्ण पदक जितेको थियो । अब गौरिकाले ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छिन् । भारतमा भएको १२ औं सागमा गौरिकाले १ रजत र दुई कास्य जितेकी थिइन् । गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।

Featured