देश राजनीति

भ्रष्टाचारविरुद्ध कांग्रेसले देशभर भण्डाफोर अभियान चलाउने

काठमाडौं, मंसिर २०–नेपाली कांग्रेसले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ । मुलुकमा भ्रष्टाचार र जवाफहीनता बढेको भन्दै कांग्रेसले यस्तो अभियान सञ्चालन गर्न लागेको जनाएको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको चाहनाअनुसार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । शुक्रबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको कार्यक्रममा शर्माले देशका ठूला भ्रष्टाचार काण्डमा अब कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

‘नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइड बडी जहाज खरिद, बालुवाटार जग्गा प्रकरणजस्ता ठूल्ठूला भ्रष्टाचार काण्ड आए तर, दोषीलाई उम्काइयो । यस्तै नजिरले स्थानीय तहमा अझै धेरै भ्रष्टाचार बढेको छ, अब कांग्रेसले यस्तो प्रवृत्तिविरुद्ध देशव्यापी आन्दोलन गर्नेछ,’ कांग्रेस प्रवक्ता शर्माले भने । उपनिर्वाचनले सत्तारुढ दलको कामप्रति जनताको असन्तुष्टि प्रष्ट पारेको उनले बताए । ‘बर्लिनको पर्खाल ढलेझैं धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कम्युनिस्ट ढलिसके’, शर्माले भने, ‘दुई तिहाइको सरकारले जे गरे पनि हुन्छ भन्ने मानसिकताले निम्त्याएको घाटा हो यो ।’

उपनिर्वाचनको परिणामबाट नेकपाको अगाडि ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र बाँकी रहेको दाबी शर्माले गरे । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपा पराजित भएकाले नेकपालाई जनताले रुचाउन छाडेको तर्क गरे ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनोहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती बढेको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ । नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले नेकपाको सरकार बनेपछि स्थानीय तहमा संस्थागत भ्रष्टाचार हुन थालेको बताए । कांग्रेस काठमाडौंका सभापति सवुज वानियाँ (कृष्ण), नेता लोकेस ढकाललगायतले स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताविरुद्ध भण्डाफोर कार्यक्रम सञ्चालन गरिने बताए । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीविरुद्ध भन्दै कांग्रेसको नगर संघर्ष समितिले कार्यक्रम गरेको हो ।

Featured