देश

बलात्कार आरोप लागेका सिद्धबाबा थप सात दिन हिरासतमै रहने

काठमाडौं, मंसिर २०–बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज (सिद्धबाबा)माथि अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत सुनसरीले सात दिनको म्याद थप गरेको छ । यसअघि दिएको चार दिनको समय सकिएपछि अदालतले सिद्धबाबामाथि अनुसन्धान गर्न प्रहरीलाई थप सात दिनको समय दिएको हो । १६ मंसिरमा उनीमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पहिलो पटक चार दिनको समय पाएको थियो ।

विराट नर्सिङ होमको आईसीयूमा उपचाररत सिद्धबाबालाई ह्वीलचियरमार्फत एम्बुलेन्समा राखेर प्रहरीले दिउँसो १२ बजे अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश खिमानन्द भुसालको इजलासले कृष्णदासजीमाथि थप अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो ।

सुनसरीको चतराधामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता सिद्धबाबाले बलात्कार गरेको भन्दै एक अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि छात्ती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै मंसिर १२ गते बिहीबारदेखि सिद्धबाबा अस्पताल भर्ना भएका थिए । उनलाई सोमबारबाट आईसीयूमा भर्ना गरिएको थियो । पुनः प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

Featured