विदेश

‘शक्ति दुरुपयोगको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग अघि बढ्छ’

एजेन्सी, मंसिर २०–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदको तल्लो सदनमा तत्काल महाअभियोगको प्रस्ताव पेश हुने भएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्। सभामुख पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगबाहेक अर्को विकल्प नभएको बताइन् ।

राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै प्रक्रिया चाँडो टुंगो लगाएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । उनले डेमोक्रेट नेताहरूको सन्तुलन गुमेको भन्दै महाभियोगको प्रक्रिया चाँडो थाल्न आग्रह गरे । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने पूर्व उपराष्ट्रपति जोए बिडेनविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने बताएर ट्रम्पले पदको दुरुपयोग गरेको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, ‘तथ्यहरू अकाट्य छन् । राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे।’ महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न समेत संसदका समिति अध्यक्षहरुलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव पेश भएर यसवर्ष्भित्रै मतदान हुनसक्नेछ । माथिल्लो सदन सिनेटमा यसको सुनुवाइ सन् २०२० को जनवरीमा हुनसक्छ ।

पेलोसीले रिपब्लिकन नेताहरुले आरोप लगाएजस्तो आफूले कसैलाई घृणा नगरेको भन्दै राष्ट्रपतिलाई घृणाका कारण महाभियोग लगाउने प्रयास भएको भन्ने कुराको समेत खण्डन गरेकी छन् । अमेरिकी संसदको तल्लो सदमा डेमोक्रेटको र माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । सिनेटमा बहुमत रहेकाले महाअभियोग तल्लो सदनबाट पारितथ भएपनि सिनेटबाट दुई तिहाईले पारित भएर ट्रम्प हट्ने सम्भावना कम छ ।

Featured