देश

अनुगमन टोलीद्वारा ढुंगाका ढक र अखाद्य वस्तु जफत

सुर्खेत, मंसिर १९–सुर्खेतको पश्चिम भेगमा नियमविपरीत पसलहरु सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा १२ वटा पसलहरु यस्ता भेटिएका हुन। पञ्चपुरी नगरपालिका– २, सालकोट र चौकुने गाउँपालिका– ८, विशालबजारमा नियमविपरीत सञ्चालन भएका ८ वटा पसलका सञ्चालकलाई ७ दिनभित्र जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी उत्तम शर्माले जानकारी दिए । कुनै पनि कागजात र प्रक्रिया नपुगेका ४ वटा पसललाई तीन दिनभित्र आवश्यक प्रक्रिया पुर्याउन निर्देशन दिइएको उनले बताए ।

एग्रोभेटको प्रमाणपत्र लिएर भेटेनरीको सामान राखिएको वीरेन्द्र एग्रोभेट तथा खाद्यखुद्रा पसलले राखेका भेटेनरी सामाग्रीसमेत जफत गरिएका छन् । अनुगमनका क्रममा दर्ता नगरेका ढकतराजु र ढुंगाका ढक राखिएका तीनवटा तराजु तथा एउटा सुनचाँदी पसलको तराजु जफत गरिएको शर्माले जानकारी दिए । ‘चौकुनेको गुटु र पञ्चपुरीको सालकोटमा गरी १२ वटा पसल अनुगमन गरियो,’ शर्माले भने, ‘यस क्रमा दर्ता नगरिएका, साइनबोर्ड नराखिएका, ढक तराजुसमेत ढुंगाको प्रयोग गरिएको पाइयो ।’ खाद्य र अखाद्य वस्तुहरु एउटै ठाउँमा राखेर विक्रीवितरण गरेकोसमेत पाइएको शर्माले बताए ।

उनका अनुसार अहिले पहिलो चरणको अनुगमनमा एक हप्ताभित्र सबै प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ । त्यसपछि पनि अटेर गरे कानुनबमोजिम कारबाही हुने शर्माको भनाइ छ । सुनचाँदी, खुद्राखाद्य, इलेक्ट्रोनिक र फेन्सी पसलमा अनुगमन गर्दा म्याद नाघेका सामग्रीसमेत भेटिएका थिए । अनुगमनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रहरी र वडा कार्यालयका प्रतिनिधिहरु सहभागी थिए ।

Featured