देश

ढल्केवर सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, मंसिर १९–४ सय केभी ढल्केवर सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुसभित्र निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो । नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधिन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब १ हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने विद्युत प्राधिकरणले जनाएको छ।

देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केवर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिनेछ ।

ढल्केवर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइन २ सय २० केभीमा सञ्चालनमा छ । ढल्केवरमा ४ सय केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा सञ्चालन हुनेछ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब २ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४ सय र २ सय २० केभीको ढल्केवर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष्भित्रमा ४ सय केभीको ढल्केवर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ।

Featured