विदेश

बसलाई ट्रकले ठक्कर दिँदा नौ जनाको मृत्यु

एजेन्सी, मङ्सिर १९–भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २० घाइते भएका प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा सो दुर्घटना भएको थियो ।

बाइपासमा सडकमा भएको दुर्घटनामा नौ जना यात्रुको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्युमा भएकाहरूप्रति शोक व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

‘रेवामा भएको दुर्घटनाको दुःखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरूका परिवारप्रति मेरो समवेदना छ,’ मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’ गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी १ लाख ५१ हजार ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

Featured