देश

ललितपुरका २० हजार बालबालिकामा थाहै नदिई टाइफाइड भ्याक्सिन परीक्षण

काठमाडौं, मंसिर १९–नेपालजस्ता अतिकम विकसित देशमा नयाँ नयाँ औषधिको मानव प्रयोग हुने गरेको सुनिएकै हो, टाइफाइडको नयाँ भ्याक्सिनको नेपालका २० हजार बालबालिकामा प्रयोग गरिएको खुलासा भएको छ । रोयटर्स समाचार संस्था र बीबीसीले नेपालका बालबालिकामा प्रयोग गरिएको नयाँ भ्याक्सिनको परिणाम सकारात्मक देखिएको जनाएका छन् ।

दुई वर्षअघि (सन् २०१७)बाट यो भ्याक्सिनको ललितपुरका ९ महिनादेखि १६ वर्षबीचका बालबालिकामा उनीहरूका परिवारलाई ‘प्रयोगका रूपमा हो’ भन्ने थाहै नदिई लगाउन थालिएको थियो । ‘टाइफाइड भ्याक्सिन एक्सिलेरेसन कन्र्सो्टियम इन नेपाल’का नाममा नेपालमा यो भ्याक्सिनको प्रयोग गरिएको हो । कन्सोर्टियमको नेतृत्व गरेकी डा. मिला शाक्यसहितले न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसनमा प्रकासित गरेको शोधपत्रमा यो भ्याक्सिनको प्रयोग गर्नका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वीकृति दिएको र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सहयोग गरेको उल्लेख गरिएको छ ।

शोधपत्रअनुसार नेपाली बालबालिकालाई २ खाले भ्याक्सिनको प्रयोग गरिएको थियो, भारतको हैदाराबादस्थित भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको ‘टाइपबार–टीभीसी’ भ्याक्सिन १० हजार ५ जना बालबालिकालाई लगाइएको थियो भने ‘मेनए भ्याक्सिन’ १० हजार १४ जना बालबालिकालाई लगाइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वीकृतिअनुसार विकसित यो भ्याक्सिन ‘अक्सफोर्ड ट्रोपिक रिसर्च इथिक्स कमिटी’ र नेपाल स्वास्थ्य अनुसन्धान परिषदकै स्वीकृतिमा सन् २०१७ मा नेपालमा यो भ्याक्सिनको प्रयोग गरिएको र यसको सकारात्मक नतिजा आएको शोधपत्रमा उल्लेख छ । मानवमाथि भ्याक्सिन प्रयोगका लागि वेलकम ट्रस्टले सहयोग गरेको जनाइएको छ ।

ललितपुरका बालबालिकामा प्रयोगका रूपमा यो भ्याक्सिन लगाउनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकै डाक्टर र स्वास्थ्यकर्मीहरू परिचालित गरिएको थियो ।

यो भ्याक्सिनको सफलतापछि टाइफाइडको प्रकोपबाट प्रभावित विश्वका १ करोड १० लाखभन्दा बढी जनसंख्यालाई बचाउन सकिने समाचार संस्थाहरूले उल्लेख गरेका छन् । यसअघि टाइफाइडविरुद्ध मुखबाट खुवाउने औषधि प्रयोग गर्ने गरिएकोमा त्यो त्यति प्रभावकारी हुन नसकेपछि खोप विकसित गरिएको हो ।

शोधपत्रअनुसार यो भ्याक्सिन लगाएको अर्को एक वर्षसम्म बालबालिकाहरूलाई टाइफाइड तथा प्रदूषित पानीका कारण फैलने किटाणुजन्य संक्रमणबाट कति समयसम्म बचाउन सक्छ भनेर अनुगमन गरिनेछ । नेपालबाहेक बंगलादेश र अफ्रिकामा यो भ्याक्सिनको प्रभावकारिता अध्ययनका लागि थप दुई वर्षे परीक्षण जारी छ । नेपालमा गरिएको परीक्षणअनुसार यो भ्याक्सिनले टाइफाइडजस्ता रोगका संक्रमण भएका क्षेत्रहरूमा खास ‘सेटिङ’मा काम गर्ने नतिजा निकालिएको छ ।

Featured