देश

एघार वर्षदेखि दाम्लोमा छन् अपांग बालक

गलकोट, मंसिर १९–शारीरिक अपांगता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका(७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् । मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीय बताउँछन् । शारीरिक अपांगता भएका तामाङ जन्मजात नै शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने बित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने जस्ता अस्वाभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालकका बुबा मनी लोक्चान तामाङले बताए । मनीका अनुसार टीकाले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण जन्मेको तीन वर्षदेखिनै बाँधेर राख्न थालिएको हो । ‘टीकालाई हेर्न एक जना दिनभर कुरुवा बस्ने अवस्था छैन, घरको काम पनि गर्नै र्पयो,’ उनले भने, ‘कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन ।’ रातको समयमा बोकेर घरभित्र लैजाने भए पनि दिनमा घरको पिँढीमा बाँधेर राख्दै आएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा टीकाको हेरचाह मात्र गरेर नभएको भन्दै मनीले दिनभर कृषिकर्ममा लाग्नुपरेको बताए ।

‘छोराको उपचार गर्न पाल्पाको प्रभास अस्पतालमा लगेको थिएँ, ४(५ लाख रूपैयाँ खर्चसमेत गरें, उपचार भएन,’ मनी तामाङले भने, “उपचारमा संलग्न डाक्टरले उपचार गर्न प्रयास गरे पनि सफल भएनन्, असमर्थ भएको जानकारी दिएपछि फिर्ता आएको हुँ ।’ ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको टीकाकी आमा सुकिला तामाङले दुखेसो पोखिन् । तामाङ परिवारका पाँचमध्ये टीका दोस्रा सन्तान हुन् । हालै गाउँपालिकाले अपांगता परिचयपत्र बनाएर महिनाको ३ हजार रुपैयाँ अपांगता भत्ताबाहेक अरू केही सहयोग नपाएको परिवारको गुनासो छ ।

अपांगता भएका व्यक्तिको पनि सबलांग व्यक्तिसरह मानव अधिकार हुन्छ । अझ अपांगता भएकाको दैनिक जीवन सबलांग व्यक्तिको भन्दा कठिन हुने भएकाले यस्ता नागरिकका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत प्रवृत्तिका कारण पूर्वाधारदेखि सेवा प्रवाहसम्मको अवस्थामा अपांगता भएका व्यक्तिले हरेक पाइलामा कठिनाइ झेल्नुपर्ने समस्या रहेको भन्दै मानव अधिकारर्मी तथा अभिवक्ता राम शर्माले अविलम्ब बालकको उद्धार गरी सरोकारवाला निकायले उपचार गर्नुपर्ने बताए । गाउँपालिकाको पहलमा अपांगता भत्ता उपलब्ध गराउँदै आएको वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिए । मानसिक र शारीरिक अवस्था ठीक नभएको व्यक्तिको संरक्षण गर्ने थुप्रै संघसंस्था पनि देशमा छन् । यो कुरामा पहल र सहयोग गर्ने कोही नभएको र आफूहरु यसबारे बेखबर रहेको परिवारको गुनासो छ । (रासस)

Featured