विदेश

मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउनु नपर्ने !

एजेन्सी, मंसिर १९–गुजरात सरकारले शहरी इलाकामा दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा अनिवार्य हेलमेट लगाउनुपर्ने कानुनमा छुट दिने घोषणा गरेको छ । यो छुट नगरपालिका र शहरी इलाकामा भए पनि राजमार्ग र ग्रामीण इलाकामा हेलमेट लगाउनु अनिवार्य हुनेछ । हेलमेट लगाउँदा हुने पाँच असुविधाका विषयमा उजुरी परेपछि सरकारले यस्तो घोषणा गरेको हो । केन्द्र सरकारले केही महिनअघि मात्रै सवारी कानुन परिवर्तन गरेको थियो भने जरिमानामा दोब्बर वृद्धि गरेको थियो ।

बुधबार मुख्यमन्त्री विजय रुपाणीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकपछि यातायातमन्त्री आरसी फलदूले भने, ‘केही संगठन र संस्थाले सहरी इलाकामा अनिवार्य हेलमेट लगाउनुपर्ने कानुनमा छुट दिन माग गरेपछि धेरै छलफल र सोच विचार गरेर यो निर्णय लिइएको हो ।’ अब गुजरातका शहरमा हेलमेटबिना नै दुई पांग्रे सवारी चलाए पनि प्रहरीले जरिमाना गर्न सक्ने छैन ।

यसअघि गुजरातमा जरिमाना बढाइएको विषयमा चर्को विरोध भएको छ । हेलमेट नलगाए पनि जरिमाना नगर्ने निर्णय गर्ने गुजरात नै पहिलो भारतीय राज्य हो । भारतको नयाँ कानुनमा हेलमेट नलगाइ सवारी चलाएमा एक हजार जरिमाना गर्ने प्रावधान थियो । गुजरातमा यसलाई आधा गरेर ५ सय बनाइएको थियो । साथै, मोटरसाइकलमा दुई जनाभन्दा बढी बसेमा एक हजार जरिमाना गरिनेमा गुजरातमा १ सय रुपैयाँ बनाइएको थियो ।

Featured