देश

फिस्टुला रोगबारे अभिमुखीकरण

दैलेख, मंसिर १९–महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’ बारे अभिमुखीकरण तालिम दिइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा सुरु भएको उक्त तालिममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ ।

फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुन सक्छ । मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुन सक्छ । यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिक रूपमा हुने कष्ट त छँदै छ, घरपरिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।

महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालिमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए । उनले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताए । (रासस)

Featured