विदेश

टोटनह्याम जोसे मोरिन्होको पूर्व क्लब युनाइटेडसँग पराजित

एजेन्सी, मंसिर १८–इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम म्यान्चेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको छ । माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेर जोसे मौरिन्होले प्रशिक्षण सम्हालेपछि टोटनह्यामको यो पहिलो हार हो । म्यान्चेस्टर युनाइटेड मौरिन्होको पूर्वक्लब हो । सन् २०१८ मा जोसे म्यानचेस्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि पहिलो पटक उनी प्रशिक्षकका रुपमा टोटनह्याम आएका हुन् ।

पहिलो हाफमा दुवै तर्फबाट एक एक गोल भएको थियो । तर दोस्रो हाफमा भने म्यानचेस्टर युनाइटेडले एक गोल थपेको हो । युनाइटेडका लागि दुवै गोल मार्कश रासफोर्डले गरे भने टोटनह्यामका लागि डेले अलीले गोल गरेका थिए । जितपछि छैटौं स्थानमा पुगेको युनाइटेडको १५ खेलबाट २१ अंक भएको छ भने आठौं स्थानमा रहेको टोटनह्यामको २० अंक छ । लिग अन्तर्गत गएराति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्यामलाई २–० तथा साउथह्याम्पटनले नर्विच सिटीलाई २–१ ले पराजित गरेका छन् ।

Featured