देश

बूढीगण्डकी मुआब्जा विवाद

गोरखा, मंसिर १९–२०६४ सालमा सिद्र्धिबासका शेरबहादुर गुरुङले आरुघाट बजारमा दुई आना तीन पैसा जग्गा किने । त्यतिबेला ११ लाख रुपियाँ खर्चिएर किनेको घडेरीले १२ वर्षपछि अहिले पनि त्यत्ति नै मूल्यको मुआब्जा पाउने भएको छ । मेरो जग्गालाई आनाको साढे छ लाख दिने निर्णय भएको रहेछ, उनले भने, ‘के के कर काट्दा दुई/तीन सकिन्छ रे, १२ वर्षपछि पनि म त जस्तोको जस्तै भएँ । बैंकमा पाँच लाख ऋण नै छ । गुरुङले ऋण काढेर उक्त जग्गा र दुई तले घर बनाएका छन् । घर भाडामा लगाएर गुजारा चलाएको शेरबहादुरको परिवार अब बिचल्लीमा परेको छ ।

आरुघाटमा १७ वर्षदेखि व्यवसाय गर्दै आएका मनु विश्वकर्मालाई अहिले रातभरि निद्रा पर्दैन । दुःखजिलो गरेर कमाएको १४ लाख रुपियाँले साढे दुई आना घडेरी किनेर घर बनाएको उनले वर्षौंअघि खर्चिएको रकमजति पनि मुआब्जा नपाउने भएपछि उनको भोक निद्रा सबै हराएको छ । जिन्दगी नै यहीँ आएर बित्यो, कमाएको पनि यहीँ लगानी गरियो, अहिले उठिबास हुने अवस्था आयो, उनले भने, ‘अब जहान परिवार कहाँ लगेर पाल्ने ? हामी त बर्बादै भयौँ । उनीहरूजस्तै थोरै जग्गा किनेर आरुघाट बजारमा बसेकालाई अहिलेको मुआब्जामा बढी नै मर्का परेको देखिन्छ ।

स्थायी रूपमा लामो समयदेखि आरुघाटमा बस्दै आएकाले पनि जग्गाको उचित मूल्य नपाएको स्थानीय वसन्तमान श्रेष्ठले गुनासो गरे । चार÷चार वर्षसम्म हाम्रो जग्गा रोक्का राख्ने तर पहिले चलेको जत्ति पैसा पनि मुआब्जा नदिने यो सरासर अन्याय भयो, उनले भने, ‘मैनबत्तीजस्तो जलेर अरूलाई उज्यालो दिन सकिँदैन, बरु आयोजना नबने नबनोस्, हामीलाई हाम्रो जग्गा फिर्ता गरिदिए हुन्छ ।

बहुचर्चित बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रअन्तर्गत पर्ने गोरखाको आरुघाट र आर्खेतका साथै धादिङको मुआब्जा निर्धारण भएपछि त्यो क्षेत्रका सर्वसाधारण चिन्तित भएका छन् । गोरखाको दोस्रो व्यापारिक केन्द्रको रूपमा रहेको आरुघाट र आसपासका जग्गालाई विभिन्न भागमा वर्गीकरण गरी आनाको ५० हजारदेखि सात लाखसम्म मुआब्जा दिने निर्णय भएको छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाको प्रवेशद्वारसमेत रहेको मनास्लु पदमार्गमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा कम भएको भन्दै आन्दोलन सुरु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured