देश

अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसा

काठमाडौं, मंसिर १९–अछाम जिल्लाकी १२ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिनाअघि करिब २० हप्ताको गर्भपतन गराइयो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उनी आफूलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकाले २० हप्ताको गर्भ हुँदासमेत परिवारको सदस्यले थाहा पाउन सकेनन् । बालिकालाई कुकुरले टोकेपछि उनका ठूलो बुवाले रेबिजविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा मात्र बालिका गर्भवती भएको थाहा पाए र तुरुन्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याएपछि गर्भपतन गराइएको थियो ।

बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कारमा परेर गर्भवती हुन पुगेकी हुन् । ती बालिका एक प्रतिनिधि पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । तीमध्ये पनि यौन हिंसा र शारीरिक हिंसामा धेरै परेका तथ्याङ्क सार्वजनिक भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ ।

सङ्घका अध्यक्ष निर्मला धितालले अनुसन्धानकर्ता रीता भद्राले वुमन काइन्डको सहयोगमा काभ्रे, मोरङ र गोरखा जिल्लामा गर्नुभएको अनुसन्धानले यस क्षेत्रमा काम गर्न स्पष्ट नीति तथा कार्यक्रम बनाउन बाटो देखाएको बताए । सो सर्वेक्षणमा पत्ता लागेका प्रमुख विषयवस्तु र तथ्याङ्कबारे प्रस्तुति दिँदै उनले ५० प्रतिशत अपाङ्गता भएका महिलालाई जबरजस्ती यौन गतिविधिमा संलग्न गराइएको पाइएको बताए । उनले १७ प्रतिशतले यौन हिंसामा परेको, ४३ प्रतिशत यौन दुव्र्यवहार, ३९ प्रतिशत वैवाहिक बलात्कारमा परेको र २८ प्रतिशतलाई जबरजस्ती परिवार नियोजनको साधन प्रयोग गर्न लगाइएको पाइएको बताउँदै कतिपयलाई हिंसा भन्ने कुरा नै थाहा नभएको बताएको पनि बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured