देश

कारागारमा सचेतनामूलक नाटक

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

जलेश्वर, मंसिर १८–महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ‘लागुऔषध प्रयोग तथा यसबाट उत्पन्न हुने विभिन्न समस्या’ नामक एकदिने जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। जलेश्वर कारागार कार्यालयको आयोजनामा श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुर द्वारा आज कारागारको गृहबन्दीमा सो नाटक प्रदर्शन गरिएको जेलर मकसुदन महासेठले बताएका छन्।

उनले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारभित्र रहेका विभिन्न मुद्दाका ५२० कैदीबन्दीको आचरणमा सुधार ल्याउने उद्देश्यले सो नाटक प्रदर्शन गराइएको बताएका छन्। श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरबाट महिला, पुरुष गरी १५ जनाको संख्यामा आएका कालाकारले जलेश्वर कारागारभित्र दुई घण्टा निक्कै रोचक र प्रभावकारी ढङ्गले नाटक प्रदर्शन गरेको जेलर महासेठले बताएका छन्।

सो नाटक हेरेपछि जलेश्वर कारागारभित्र रहेका कैदीबन्दी निक्कै प्रभावित बनेका तथा उनीहरु जेलपछिको जीवनमा लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता प्रकट गरेको मुख्य कैदी (चौकीदार) रमेश सिंहले बताएका छन्। रासस

Featured