देश

उद्योगी चन्द्र ढकाल भन्छन्‑ मुलुकको औद्योगिक सम्बन्ध सहज

काठमाडौं, मंसिर १८–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको बताएका छन् । औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीमा उपाध्यक्ष ढकालले रोजगारदाता र ट्रेड युनियनको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दिगो बन्ने बताए । ‘यस किसिमको सोचले देशमा औद्योगिक प्रवर्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने, ‘यस सम्बन्धलाई थप बलियो र भरपर्दो बनाउन अझै सहकार्य गर्नुपर्छ ।’

रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको उनले स्पष्ट पारे । श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै उपाध्यक्ष ढकालले हाल यी महत्वपूर्ण कानुन कार्यान्वयनको चरणमा रहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यावहारिक जटिलता देखिएको भन्दै उनले एकले अर्कोलाई दोष दिएर भन्दा पनि व्यावहारिक ढंगले त्यसको हल गर्नुपर्ने धारणा राखे ।

Featured